कानेपोखरी गापाद्वारा नवौं गाउँसभाको बजेट सार्वजनिक, गत आवभन्दा बजेट २०.२६ प्रतिशतले वृद्धि

गाउँसभाबाट पारीत भएको ७६ करोड ९७ लाख ३० हजार ३ सय ४१ रुपैयाँ बराबरको अनुमानित बजेट पालिका प्रवक्ता सुशील बुढाथोकीले सार्वजनिक गरेका हुन ।

कानेपोखरी / मोरङ कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष ०७८/०७९ को बजेट गत आर्थिक वर्षभन्दा २०.२६ प्रतिशतले वृद्धि गरेको छ ।

यस आर्थिक वर्षमा वडा नं. ४ मा रहेको बयरवन स्वास्थ्य चौकीलाई स्तरोन्नति गरि १५ सैयाको कानेपोखरी अस्पताल बनाउने, सेवा प्रवाह सुविधाजनक बनाउन २८ जना स्वयंसेविकालाई साइकल उपलब्ध गराउने, गाउँपालिकाले बाल कक्षा शिक्षक र कर्मचारी गरि ६५ जनालाई तलबका निम्ति रु. ६२ लाख छुट्टाएको, सबै वडाको मुख्य-मुख्य ठाउँमा फ्री वाइफाई जडान गरिने, कानेपोखरी, रमाइलो, बयरवन, दलेली बजारलाई सुरक्षित राख्न सिसिटिभि जडान गरिने लगायतका राम्राराम्रा योजनाहरू अघि सारेको छ ।

गाउँपलिकाको फुसको छानो विस्थापित गर्ने कार्यक्रम अनुसार ३३३ घर खरको छानो विस्थापित गरिने गाउँपालिको निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । गाउँपालिका भित्रका भुमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्था समधानका लागि ४० लाख बजेट विनियोजन गरिएको छ ।

कृषि उपज खास गरि सागसब्जी सुरक्षित राख्न मिनि कोल्ड स्टोरका लागि ११ लाख अनुदानमा विनियोजन गरिएको, खेलकुद र खुल्ला व्यायामशालाका लागि आवश्यक व्यवस्थापनका लागि ४५ लाख विनियोजन गरिएको बताइएको छ । पालिकामा अघिल्लो आर्थिक बर्षदेखि नै केही वडामा सुगर, प्रेसर लगायतको दीर्घरोगी विरामीको लागि नि:शुल्क औषधि वितरण गर्दै आएका छन् । यस गाउँपालिकाले आर्थिक वर्ष ०७८/७९ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

मंगलबार पालिकाको सभाहलमा पत्रकार सम्मेलन गाउँसभाबाट पारीत भएको ७६ करोड ९७ लाख ३० हजार ३ सय ४१ रुपैयाँ बराबरको अनुमानित बजेट पालिका प्रवक्ता सुशील बुढाथोकीले सार्वजनिक गरेका हुन ।

बजेटमा अनुमानित आम्दानी तर्फ संघिय समानिकरण अनुदानबाट १३ करोड ७५ लाख, संघिय सशर्त अनुदानबाट २१ करोड ४३ लाख, संघिय राजस्व बाँडफाँडबाट ८ करोड १५ लाख ६ हजार, संघिय समपूरक अनुदानबाट १ करोड ३९ लाख, संघिय विशेष अनुदानबाट १ करोड २५ लाख, प्रदेश सरकार वित्तिय समानिकरण अनुदानबाट ८० लाख १५ हजार, प्रदेश सरकार सशर्त अनुदानबाट ५० हजार, प्रदेश सरकार सवारी बाँडफाँड अनुदान ५ लाख ३ हजार ७ रुपैयाँ, प्रदेश सरकार समपूरक अनुदानबाट १० लाख, जिल्ला समन्वय अनुदानबाट १० लाख, सामाजिक सुरक्षा भत्ताबाट १ करोड ८० लाख, आन्तरिक राजस्वबाट ६० लाख, मालपोत बाँडफाँडबाट प्राप्त राजस्वबाट १२ लाख ५० हजार , चिसाङ्ग खोलाबाट नदिजन्य पदार्थको बाँडफाँडबाट १७ लाख, सामुदायिक वन समूह १० प्रतिशत आम्दानीबाट २ लाख ५० हजार, विविधबाट २ लाख ५० हजार र अल्याबाट ५ करोड ६४ लाख २९ हजार २ सय ७१ रुपैयाँ गरि ७६ करोड ९७ लाख ३० हजार ३ सय ४१ रुपैयाँ आम्दानीको रूपमा देखिएको छ । आर्थिक वर्ष २०७८/०७९ व्ययतर्फको योजनाहरुको अनुमान अन्तर्गत चालू खर्च (स्थानीय तहको बजेटबाट) ७ करोड ३९ लाख ६० हजार, चालू खर्च(सशर्त बजेटबाट) २१ करोड ४३ लाख, सामाजिक सुरक्षा भत्तामा १८ करोड, आर्थिक विकास तर्फ कृषी तथा पशुपंक्षी, सिँचाई, सहकारी र पर्यटनमा गरि जम्मा ३ करोड ७ लाख ३५ हजार, समाजिक विकास तर्फ स्वास्थ्य, शिक्षा, भाषा धर्म, युवा खेलकुद, लक्षित वर्ग, भुमी समस्या समाधान, खानेपानी र विविधमा गरि ६ करोड ४७ लाख ९९ हजार ५० रुपैयाँ, पुर्वाधारमा १६ करोड ७३ लाख ८१ हजार २ सय ९१, सुशासनमा ९२ लाख ५५ हजार र वन वातावरणमा तथा विपद व्यवस्थापनमा २ करोड ९३ लाख गरि जम्मा ७६ करोड ९७ लाख ३० हजार ३ सय ४१ रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाले जनसंख्याको आधारमा वडागत सिलिङ बजेट ७ वटै वडालाई छुट्याएका थिए । वडा नंं. १ लाई ५८ लाख, वडा नं. २ लाई ७२ लाख, वडा नं. ३ लाई ६० लाख, वडा नं. ४ लाई ६० लाख, वडा नं. ५ लाई ७५ लाख, वडा नं. ६ लाई ७० लाख र वडा नं. ७ लाई ५५ लाख वडास्तरीय बजेट छुट्याएको थियो ।

चालू वर्ष ०७७/७८ मा सडक, स्वास्थ्य, शिक्षा, प्रधानमन्त्री रोजगार, पञ्जिकरण, कृषि पशुपंक्षीको क्षेत्रमा उपलब्धिमुलक कार्यहरू सम्पन्न भएका छ्न । हालसम्म ६५ प्रतिशत बजेट खर्च भईसकेको आर्थिक वर्ष अन्त्यसम्म ९० प्रतिशत खर्च हुने अनुमान गरिएको छ।

Back to top button