ह्यान्ड रोल्ड सिगरेटका नायक विपिनलाई एनआरएनएको सम्मान

प्रत्यक्ष र सामाजिक सञ्जाल मार्फत विपिनलाई शुभकामना र आर्शिवाद दिईरहेका छन् नेपालीहरुले ।

हङकङ / नेपाली कलाकार विपिन कर्मा हङकङेली नेपालीहरुमाझ चर्चामा छन् । उनको प्रमुख भुमिका रहेको चलचित्र ह्यान्ड रोल्ड सिगरेट हङकङमा प्रर्दशन भएसँगै कहिल्यै स्थानिय सिनेमा घरमा नगएका नेपालीहरु पनि फिल्म हेर्न गएका छन् । प्रत्यक्ष र सामाजिक सञ्जाल मार्फत विपिनलाई शुभकामना र आर्शिवाद दिईरहेका छन् नेपालीहरुले ।

विपिनको सफलताले सिङे हङकङेली नेपाली समाजको छाती चौडा भएको भन्दै एनआरएनए (गैह् आवाशिय नेपाली संघ) हङकङले एक कार्यक्रमको आयोजना गरेको थियो । एलिमेन्स स्थित सिनेमा घरमा एनआरएनए हङकङका पदाधिकारीसहितको टिमले नायक विपिन लगायत सिनेमाका कलाकारहरुलाई सम्मान गरेका थिए ।

हङकङ स्थित नेपाली महावाणिज्यदूत उदयबहादुर राना मगर, वाणिज्यदूत किरण गुरुङ, एनआरएनए हङकङ अध्यक्ष राधिका (टिका) गुरुङ, महासचिव गोकर्ण ढकाल, सल्लाहकार कृष्ण पाण्डे, नेपाल एयरलाईन्स हङकङ म्यानेजर नवराज उपाध्याय, नेपाल चेम्बर अर्फ कर्मश अध्यक्ष डासुराम पराजुली, उपाध्यक्ष लवकुमार गुरुङ, नेपाल आदिवासी जनजाती महासंघ अध्यक्ष किसन राई लगायत विभिन्न संघसस्थाका प्रतिनिधीहरुले विपिन र चलचित्रका टिमलाई सफलताको शुभकामना दिए ।

खारिएको अभिनय र हङकङको स्थानिय सिनेमा क्षेत्रमा विपिनको गर्विलो उपस्थितीले हामीलाई गौरवान्तित बनाएको छ । एनआरएनए अध्यक्ष राधिका भन्छिन हङकङमा हुर्किरहेको तेश्रो पुस्ताले कला, शिक्षा, र संस्कार मार्फत नेपालीहरुको छवीमा अर्को आयाम थप्नेछन् ।

हङकङका चर्चित कलाकार गोर्डेन लाम लगायतसँग दक्षिण एसियाली पात्रको भुमिकामा देखिएका विपिनको सफलतालाई गौरवकोरुपमा हेरिएको छ । चाईनिज भाषाका फिल्महरुको बोलवाला रहेको सिनेमा घरमा विपिनको तस्बिरसहितको पोष्टरले हङकङेली नेपालीहरुमाझ अपनत्व महशुस गराएको छ ।

चर्चित निर्देशक चान किङले निर्देशन गरेको फिल्म ह्यान्ड रोल्ड सिगरेट चाईनिज (क्यान्टोनिज) भाषामा छ । मनि पात्रमा देखिएका विपिनले लागुऔषध ब्यापारमा लाग्नु पर्ने बाध्यता र त्यसले निम्त्याएका परिणामहरुबीच गरेका सङ्घर्षहरु नै कथाको सार हो । १ घण्टा ४१ मिनेट लामो फिल्ममा प्रशस्त द्धन्द्धका दृश्यहरु समेटिएका छन् ।

Back to top button