हङकङ मुलधारको फिल्ममा नेपाली युवाको मुख्य भूमिका

हङकङ, ताईवान, सिङ्गापुरमा प्रिमियर गरिएको फिल्मलाई किङ् लङले निर्देशन गरेका हुन् ।

हङकङ / हङकङको मुलधार सिनेमा अन्र्तगत निर्मित फिल्म ‘ह्याण्ड रोल्ड सिगरेट’ मा नेपाली युवाले मुख्य भुमिका निर्वाह गरेका छन् ।

नेपाल घर पोखरा भएका विपिन कर्मा फिल्मको अभिनयसँगै चर्चाका पात्र भएका छन् । सधै नेटिभ चाईनिज भाषाका फिल्महरु सञ्चालन हुने सिनेमा घरहरुमा जुन १७ बाट कर्मा अभिनित फिल्म ‘ह्याण्ड रोल्ड सिगरेट’ चल्नेछ ।

आर्यन लुक्सका कर्माको फिल्ममा प्रवेशसँगै हङकङको फिल्म उद्योगमा ननचाईनिज कलाकारहरु प्रवेशको श्रृङ्खला शुरु भएको छ ।
हङकङको सिनेमा घरहरुमा कहिल्यै कुनैपनि फिल्म नहेरेका नेपालीहरुपनि कर्मा अभिनित फिल्म हेर्न उत्सुक छन् । आफ्नो समुदायको संम्लग्नता भएकाले पनि होला गौरव महशुस भएको छ, अग्रिम बुकिङ्को तयारी गरिरहेको छु एक नेपाली बताउँछन ।

फिल्ममा कर्माले हङकङका चर्चित कलाकारहरु गोर्डेन ल्याम, लिङ जि एतोङ, माईकल, ताईबो, बेन युईन लगायतसँग अभिनय गरेका छन् । हङकङ, ताईवान, सिङ्गापुरमा प्रिमियर गरिएको फिल्मलाई किङ् लङले निर्देशन गरेका हुन् ।

दक्षिण एसियाली युवाको भुमिकामा विपिनलाई फिल्मको शुरुवातदेखी अन्त्य सम्म नै देख्न सकिन्छ । बेरोजगारी र लागुपदार्थमा युवाको संम्लग्नता र परिणाम नै फिल्मको मुख्य बिषय हो ।

अन्य सामान्य लघु फिल्म, विज्ञापनमा अभिनय गरेपनि मुलधारको सिनेमा कर्माको प्रवेश पहिलो हो । हङकङमा ननचाईनिज पात्रहरुको फिल्ममा खासै भुमिका हुदैन । विगतका कुनैकुनै चलचित्रमा सामान्य भुमिका भएपनि कर्माले पाएको सफलताले अन्य ननचाईनिज कलाकारहरुलाई उत्साह मिलेको छ ।

एक फिल्म फेस्टिबलमा आफ्नो अभिनय हेरेपछि चलचित्रका निर्देशकले उनलाई अभिनयको प्रस्ताव गरेका थिए । चलचित्रको प्रिमियरमा स्थानियसँगै आफ्नो समुदायबाट पाएको प्रशंसाले अभिनय कर्ममा निरन्तर लाग्ने कर्मा बताउँछन् ।

गोल्डेन फिल्म फेस्टिबल अन्र्तगत १७औ एसिया फिल्म फेस्टिभलको ओपनिङ फिल्म ‘ह्याण्ड रोल्ड सिगरेट’ मार्फत कर्माको अभिनय यात्राले अझ उत्कृष्ट यात्रा पक्कै तय गर्नेछ ।।

 

Back to top button