धिमाल जातिको ऎतिहासिक एवम साँस्कृतिक क्षेत्र मास्न खोजेको भन्दै विरोध

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त बजेबाट स्थानीय सरकारले निर्माण गर्ने अदुरदर्शी कदमलाई सच्याउन विज्ञप्तिमा माग गरीएको छ ।

कानेपोखरी / मोरङ कानेपोखरी ७ मा रहेको धिमाल समुदायको ऎतिहासिक एवम साँस्कृतिक स्थल ग्रामथान कानेपोखरी गाउँपालिका र वडा कार्यालयले संयुक्त रुपमा मास्न खोजेको भन्दै धिमाल जातिय विकास केन्द्र कानेपोखरीले विरोध जनाएको छ ।

आदिमकाल देखि धिमाल समुदाय बसोवास गर्दै आएका छन । धिमाल समुदायको इतिहास, संस्कृति र जीवन शैली वन जंगल, खोला नाला लगायत प्रकृतिसँग जोडिएको छ । कानेपोखरी वडा नं ७ मा धम्कुवा गाउँ टोल समितिले लामो समयदेखि ग्रामथान निर्माण गरी पुजाआजा गर्दै आएका छन् । तर उक्त ग्रामथानमा कानेपोखरी गाँउपालिका र वडा नं ७ को सयुक्त पहलमा संरक्षक धिमाल समुदायसँग विना छलफल र कुनै अनुमती नलिई व्यवसायिक संरचना निर्माण गर्न लागिएको पाइएको छ ।

पालिका र वडाको यस कदम प्रति विरोध जनाउदै मंगलबार धिमाल जातीय विकास केन्द्र धम्कुवा टोल समिति र धिमाल जातीय विकास केन्द्र कानेपोखरी गाँउपालिका समितिको गम्भिर ध्यानाकर्षण भएको जनाउदै प्रेस विज्ञप्ति जारी गरेका छन् ।

धिमाल समुदायसँग कुनै छलफल र अनुमती नलिई ऐतिहासिक स्थलको अतिक्रमण गर्नु अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी १६९ विपरित कार्य भएको विज्ञप्तिमा उल्लेख छ । ग्रामथानको इतिहास र संस्कृतिलाई समाप्त गरी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त बजेबाट स्थानीय सरकारले निर्माण गर्ने अदुरदर्शी कदमलाई सच्याउन विज्ञप्तिमा माग गरीएको छ ।

आदिवासी समुदायको देव स्थललाई समाप्त गरी धार्मिक तथा सांस्कृतिक अतिक्रमणकारी स्थानीय सरकारको कदम विरुद्ध एक हुन सम्पूर्ण न्यायप्रेमी, संस्कृतिप्रेमी, नागरिक समाज, आदिवासी अभियन्ताहरु र वुद्धिजिवि वर्गमा विज्ञप्ति मार्फत आव्हान गरेका छन् ।

सार्वजनिक विज्ञप्ति

 

Back to top button