एकदिनमा ७७६ जनामा कोरोना संक्रमण, ९४७ डिस्चार्ज, ६ को मृत्यु

अहिले ४४४ जना क्वारेन्टिन र ९ हजार ५८० आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

काठमाडौं / पछिल्लो २४ घण्टामा  ७७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ। संक्रमित हुनेमा ३०८ महिला र ४६८ पुरुष छन्।

६ हजार ५८८ स्वाबको पीसीआर परीक्षण गराउँदा ७७६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। यस्तै बिहीबार ९४७ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ४० हजार ३६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९५.५ प्रतिशत हो।

देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५८० रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १७ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ। बिहीबार मात्र कोरोनाबाट थप ६  जनाको मृत्यु भएको छ।

यस्तै अहिले ४४४ जना क्वारेन्टिन र ९ हजार ५८० आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। कोरोनाका गम्भीर २८१ जनाको आइसीयूमा र ५९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

Back to top button