प्रमुख मुद्धाहरु हल गर्न युवा संघद्घारा पार्टी तथा सरकारी निकायमा ध्यानाकर्षण

क्षेत्र नम्बर ३ मा निर्वाचनताका प्राथमिकिकरण गरिएका प्रमुख मुद्धाहरु हल गर्नका लागि पार्टी तथा सरकारी निकायमा ध्यानाकर्षण गराएको छ ।

पथरी शनिश्चरे  / राष्ट्रिय युवा संघ नेपालले मोरङको निर्वाचन क्षेत्र नम्बर ३ मा निर्वाचनताका प्राथमिकिकरण गरिएका प्रमुख मुद्धाहरु हल गर्नका लागि पार्टी तथा सरकारी निकायमा ध्यानाकर्षण गराएको छ ।

युवा संघको जिल्ला समितिको पहलमा पथरीशनिश्चरेमा आयोजित अन्तरक्रिया कार्यक्रममा संघका केन्द्रीय सदस्य रविन थापा, जिल्ला अध्यक्ष नविन पौडेल सहितले गत निर्वाचनताका प्राथमिकीकरण गरिएका मुद्धाहरुको विषय उठाएका थिए । ती मुद्धाहरु हल गर्न सवै पक्ष सक्रिय भएर लाग्नुपर्ने भन्दै सम्वन्धित पक्षको ध्यानाकर्षण गराउन दवावमुलक योजना बनाउनु पर्नेमा जोड दिए ।

निर्वाचनताका उठाइएका क्षेत्रका प्रमुख मुद्धामा, सुकुम्वासी सहितको अव्यवस्थित बसोबासको समस्या, पथरीशनिश्चरे शिविरमा बहुसाँस्कृतिक संग्रहालय निर्माण, खोला तटवन्ध, पूर्वाञ्चल विश्वविद्याललाई गोठगाउँमा स्थापित गर्ने र बाहुनीको पेट्रोलखानी अन्वेषण गर्नुपर्ने रहेका छन् । संघले नेकपाका प्रदेशतहसम्मका नेताहरु र पथरीशनिश्चरे नगरका प्रमुख र उपप्रमुखकामाझ ती विषयहरु स्मरण गराउँदै अवको डेढ वर्षको कार्यअवधिमा नेकपाको सरकारले पुरा गर्ने पहलमा लाग्न पार्टीले समेत सरकारको ध्यानाकर्षण गराउन पर्नेमा जोड दियो ।

अन्तरक्रियामा, नेकपाका प्रदेश सदस्य युवराज वास्कोटाले पथरीशनिश्चरेमा संग्रहालय वन्ने ठाउँमा शिविर क्षेत्रका टहराहरुलाई व्यवस्थित रुपले एकातर्फ मात्र बनाउने व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले बसोबासको समस्या सहितका प्रमुख समस्याहरु समाधानमा सवै तहका सरकारसँगको समन्वयमा योजना बनाएर अघि बढ्न ढिलो भइसकेको धारणा राख्नुभयो ।

कार्यक्रममा, संविधानसभा सदस्य चण्डीप्रसाद राईले संग्रहालय निर्माणको प्रादेशिक गौरबको योजना बनेको बेला त्यसलाई विफल बनाउन लाग्नेहरु रहेको समेत बताउनु भयो । उहाँले शिविर सहित पूर्वपश्चिम मुख्य सडकको उत्तरतर्फको जंगलको करीव ८ सय विगाहा जग्गा आफुलाई बाबुले अंश दिएको व्यहोरा उल्लेख गर्दै कुलनाथ निङलेखुले जिल्ला अदालतमा हालेको मुद्धामा निङलेखुले हारेको बताउनु भयो । तर निङलेखुले पुनरावेदन गरेको अवस्था रहेकोले संग्रहालयको प्रक्रिया विचाराधिन जस्तो बनेको उल्लेख गर्नुभयो ।

ठाडो जंगल रहेको क्षेत्रमा त्यसप्रकारको दावी गरेर भूमाफियामार्फतको चलखेललाई अन्त्य गर्न सवै लाग्नुपर्ने उहाँको धारणा छ । उहाँको संयोजकत्वमा प्रदेश सरकारले बनाएको संग्रहालयको पूर्व सम्भाव्यता अध्ययन समितिले प्रतिवेदन बुझाएको डेढ वर्ष भइसकेको छ । नेकपाका भगतचन्द्र थपलिया, दिननाथ तिम्सिना, मोहन तुम्वापो सहितले दोहोरो स्वामित्व सहितको बसोबासको समस्या समाधान गर्न पहिलो प्राथमिकता बनाएर जिल्ला तहमा विशेष आयोग बन्नुपर्नेमा जोड दिनुभयो ।

पथरीशनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले बसोबासको समस्या समाधानमा जिल्ला तहमा आयोग बनिहाल्नुपर्ने, संग्रहालय निर्माणमा मन्त्रालयको अवधारणा र कन्सल्टेन्सीको डिजाइनमा एकरुपता हुनुपर्ने धारणा राख्दै नगरपालिकाले ती मुद्धामा समन्वय गरिरहेको र सवै पक्षको समन्वय आवश्यक रहेको बताउनु भयो ।

Back to top button