कोरोना संक्रमित विराटनगरका दुई महिलाको मृत्यु

विराटनगर महानगरपालिका–४ की ६४ वर्षीया महिलालाई उपचारका लागि शुक्रबार दिउँसो ३ बजेतिर कोशी अस्पताल लगिएको थियो।

विराटनगर / कोरोना भाइरसबाट संक्रमित विराटनगरका दुई महिलाको उपचारका क्रममा शुक्रबार साँझ मृत्यु भएको छ। एक जनाको विराटनगरस्थित कोशी अस्पताल र एक जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो। कोशी अस्पतालमा मृत्यु भएकी महिलाको भने शनिबार बिहान मात्रै रिपोर्ट पोजिटिभ आएको छ।

ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या भएपछि विराटनगर महानगरपालिका–४ की ६४ वर्षीया महिलालाई उपचारका लागि शुक्रबार दिउँसो ३ बजेतिर कोशी अस्पताल लगिएको थियो। आइसोलेसनमा भर्ना गरेर उपचार थालिएकी उनको साँझ ७:३० बजेतिर मृत्यु भएको अस्पतालका वरिष्ठ फिजिसियन एवं आइसोलेसन संयोजक डा. लक्ष्मीनारायण यादवले जानकारी दिए।

स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकी मृतक महिलाको मृत्यु भएको १२ घण्टापछि रिपोर्ट पोजिटिभ आएको उनले बताए। यादवका अनुसार प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गरिएको हो।

त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत विराटनगर महानगरपालिका–११ की ४३ वर्षीया संक्रमित महिलाको शुक्रबार साँझ ६:३० बजेतिर मृत्यु भएको छ। प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार पेट र छात्ती दुख्ने तथा श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको न्युरो अस्पतालले महिलालाई थप उपचारका लागि प्रतिष्ठान पठाएको हो।

महिलामा चार वर्षदेखि उच्च रक्तचापको समस्या रहेको डा. सापकोटाले बताए। स्वाब संकलन गरेर प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि मृतकमा भदौ १७ गते कोरोना पुष्टि भएको थियो। कोरोना देखिएपछि न्युरोबाट रेफर गरिएकी महिलालाई भदौ १८ गते बिहीबार बिहानदेखि प्रतिष्ठानमा भर्ना गरेर उपचार थालिएको थियो।

 

Back to top button