हङकङको नेपाली समाज, सिङ्गो नेपालको प्रतिविम्ब हो – निवर्तमान हङकङ महावाणिज्यदूत कमलप्रसाद भट्टराई

आन्दोलनरत अवस्थामै निवर्तमान महावाणिज्यदूत महेशप्रसाद दाहाल बढुवाका कारण ४ बर्ष कार्यकाल पुरा नगरि फर्किएपछि भट्टराईले हङकङ महावाणिज्यदूतको कार्यभार सम्हालेका थिए ।

४ बर्षको सफल कार्यकाल समाप्त गरि हङकङ स्थित महावाणिज्यदूत कमलप्रसाद भट्टराई नेपाल फर्किए । हङकङमा विगत १४ बर्षदेखी आदिवासी जनजाती मूलको नेपाली महावाणिज्यदूत नियुक्त गरिनुपर्ने भनि, आदिवासी जनजाती महासंघ हङकङले आन्दोलन गरिरहेको छ । आन्दोलनरत अवस्थामै निवर्तमान महावाणिज्यदूत महेशप्रसाद दाहाल बढुवाका कारण ४ बर्ष कार्यकाल पुरा नगरि फर्किएपछि भट्टराईले हङकङ महावाणिज्यदूतको कार्यभार सम्हालेका थिए ।

आन्दोलनरत पक्षहरुसँगको कार्यगत सहमती, कोरोना कहरमा दूतावासले विभिन्न माध्यमबाट निरन्तर दिएको सेवा, पर्यटन प्रर्वद्धनका विविध कार्यक्रम, लगानी अभिप्रेरितका कार्यक्रम लगायतले भट्टराईको कार्यकाल प्रंशसनीय भएको थियो । भट्टराईकै कार्यकालमा अनावश्यक विदा, आदिवासीहरुका चाडपर्वमा असहयोग, हिन्दु धर्मका पर्वहरुमा दूतावास प्रत्यक्ष आयोजक बनेको लगायतका विषयमा चर्को बिरोध पनि भएको थियो ।

समग्रमा ४ बर्षको कार्यकाल, आन्दोलनरत पक्षहरुसँगको सहकार्य, हङकङको नेपाली समाज, हङकङ सरकारले नेपालीहरुलाई हेर्ने दृष्टिकोण लगायतका विषयमा अनोज रोक्काको कुराकानी ।

१. हङकङ महावाणिज्यदूतको चारबर्षको कार्यकाल सकियो ? कस्तो रह्यो अनुभव ?

छोटोमा भन्नुपर्दा रमाईलो, अत्यन्त उपलब्धीमुलक र भिन्न अनुभव प्राप्त भयो ।

२. तपाईले कार्यभार ग्रहण गर्दा नै, हङकङमा जारी आदिवासीमुलको महावाणिज्यदूत मागको आन्दोलनलाई देख्नुभयो । नेपाल आदिवासी महासंघको चर्को विरोधपनि भोग्नु भयो । कालान्तरमा सहकार्यपनि गर्नुभयो । कस्ता कस्ता सहमती र सहकार्यहरु भए ?

मलाई खुसी लाग्छ, म सवैको आवाजको सम्मान गर्छु । शुरुका दिनहरुमा उहाँहरुले आफ्नो माग राख्नुभयो र त्यो माग राख्नका लागि नेपाल सरकारको उपयुक्त ठाउँपनि थियो । मैले उहाँहरुलाई स्पष्टरुपमा भने हामी नेपालबाट कन्सुलर सेवा प्रवाह गर्नका लागि आउँछौ, डिप्लोमेसी नितीलाई सुचारु गर्न आउँछौ, नेपाल र नेपालीहरुको प्रर्वद्धन गर्ने कार्यक्रम गर्नका लागि आउँछौ । सवैको राय, सल्लाह र सुझाव आवश्यक छ ।
मैले उहाँहरुलाई हङकङ र नेपाल ब्यापार, लगानी र पर्यटन प्रर्वद्धनका लागि एकजुट भएर सहकार्य गर्नका लागि अनुरोध गरे । यि विषयहरुमा उहाँहरुले पनि भरपुर सहयोग गर्नुभयो । हामीले सवैको सहयोगमा विविध कार्यक्रमहरु गर्न सक्षमपनि भयौ । उहाहरणका लागि गतबर्ष जुन महिनाबाट हङकङमा ब्यापक आन्दोलन शुरु भयो । आन्दोलनको समयमा अर्कोको भुमिमा रहेका हामी नेपालीहरु कसरी सन्तुलित हुने भन्ने बिषयमा सवैको छलफलबाट साझा निष्कर्ष निकाल्यौ र सवैले समाजमा त्यहि कुरा सर्कुलर गर्यौ । फलत नेपालीहरु अपवाद वाहेक कोहिपनि सहभागी, धरपकटको अवस्थामा पर्नुभएन । कोभिड १९ को तिव्र संक्रमण भएको बेला कसरी यसबाट सुरक्षित रहने भन्ने बिषयमा पनि साझा सहमितबाटै समाजमा सुचनाको आदनप्रदान गर्यौ ।

पछिल्लो समय ब्यापार तथा लगानी प्रर्वद्धनका कार्यक्रम गर्यौ, पर्यटन प्रर्वद्धनका कार्यक्रमहरु, बुद्ध जयन्तीका कार्यक्रम, भिजिट नेपाल २०२० का कार्यक्रमहरुमा समेत सवैको सक्रिय सहभागिता रह्यो । हङकङमै पहिलोपटक ठयाक्कै नेपाली समाजको संस्कार र रितीरिवाज, भेषभुषा बाजाँगाजाका साथमा प्रमुख ब्यापारिक र प्रशासनिक क्षेत्रहरुमा प्रस्तुत गर्यौ । यो दूतावासबाट मात्र सम्भव थिएन, हङकङ रहेका विभिन्न संघसस्था, समुदायको प्रत्यक्ष साथ र संमलग्नताले सम्भव भएको हो ।

हाम्रो तर्फबाट कन्सुलरले दिने सेवा र सुविधाहरुमा सम्झौता गरेनौं । सवैको प्रत्यक्ष परोक्ष महत्वपुर्ण सहयोग र सहकार्यले मात्र मेरो कार्यकाल सन्तुष्ट ढङ्ले सम्पन्न भयो ।

३. दुतावासबाट आयोजना गरिएका केहि कार्यक्रमहरुको आलोचनापनि भए । जस्तै दूतावासले हिन्दु संस्कारमा आधारित दशैं, तीज लगायतका पर्वहरुलाई महत्व दिएको भन्दै जनजाती महासंघले बिज्ञप्ति समेत जारी गर्यो । के थियो वास्तविकता ?

मैले पदभार ग्रहण गरेको केहि समयमा नै तत्कालिन समयका आदिवासी जनजातीका पदाधिकारीहरुसग एक छलफलमा नेपाली जातीय सांस्कृतिक चाडपर्वहरु ल्होसार, माघी, उधौली उभौलीहरुमा के कसरी सहकार्य गर्न सकिन्छ, मोडालिटी लिएर आउँनुहोस, हामीसग भएको साधनश्रोत अनुसार सदैव सहकार्य गर्न तयार रहेको जानकारी गराएको थिए ।

नेपाली विविध चाडपर्वहरुको जगेर्ना र सम्र्वद्धनका लागि आह्वान समेत गर्यौं केहि बिषयहरुमा उहाँहरुसग सहकार्य भएपनि केहि विषयहरुमा उहाँहरु खुलेर आउँन सक्नुभएन ।

अव दुतावासले आयोजना गरेको तीजको प्रसङ् तपाईले निकाल्नु भएको हो, भने तीज कुनै जातीय पर्व भन्दापनि अत्यन्तै नौलो र फरक प्रकृतिको नेपाली नारीहरुको मौलिक पर्व हो । यसलाई हिन्दुधर्मसँग जोड्नु भन्दापनि नेपाली नारीहरुप्रतिको हाम्रो सम्मान हो । हामी विदेशमा छौ, नेपालको संस्कार र मौलिक परम्परालाई विदेशीसामु प्रस्तुत गर्नु हाम्रो कर्तब्य पनि हो । हामीले स्थानिय चाईनिज लगायत सवै वर्ग,क्षेत्र समुदायका नेपाली महिलाहरुलाई कार्यक्रममा सहभागीताका लागि अनुरोध गरेका थियौ र उहाँहरु सहभागी पनि हुनुभयो ।

हामी सिङ्गो नेपाल र नेपालीलाई प्रमोट गर्ने कार्य गछौं । दूतावास कसैप्रति आग्रह, पुर्वाग्रह राख्दैन, यस्ता आलोचना केवल आलोचनाका लागि मात्र गरिएका हुन् ।

४. हङकङको नेपाली समाज कस्तो पाउँनुभयो ?

समग्र हङकङको समाज होमोजेनियस समाज हो, यहाँ ९८ प्रतिशत चिनिया समुदाय हुनुहुन्छ । यो भित्र अटाएको हाम्रो नेपाली समाज बहुविविधताले भरिएको हेटेरोजेनियस सोसाईटी हो । सिङो नेपाल जस्तो छ, हङकङपनि त्यसकै रिफ्लाक्ट जस्तो छ । सवै भाषाभाषी, वर्ग, समुदाय र जातको समिश्रण भएकोले शुन्दर लाग्छ ।

५. प्रायस नेपालीहरु ३ डी (डर्टी, डेन्जर र डिफिकल्टी) काम गर्छन भन्ने कुरालाई चिर्दै नेपालीहरुबाट भएका ठुला लगानी र ब्यवसायलाई कसरी लिनुहुन्छ ?

यो हङकङका नेपालीहरुको मात्र नभएर सिङो नेपालको गौरव हो । उहाँहरुको मेहनत र कामले सवैलाई प्रोत्साहित समेत गरिरहेको छ । ईतिहासलाई हेर्ने हो भनेपनि १९९७ भन्दा अगाडी नेपालीहरु आर्मीकोरुपमा ब्यारेकभित्र सिमित थियौ । लाहुरेका सन्ततीहरुले हङकङमा बसोबासको लागि प्रवेश पाएसँगै भिषाबाट र ब्यापार ब्यवसायका लागि पनि हङकङ आउँन थालिएको देखिन्छ । अहिले जसरी नेपालीहरुले अरुलाई समेत रोजगारी दिई हङकङ सरकारलाई ट्याक्स तिरिरहेका छन् यसले समग्र हाम्रो परिचय समेत फेरिएको छ ।

हिजोसम्म काम खोज्नका लागि हामी अरुको मुख ताक्थ्यौ भने अहिले स्थानिय चाईनिजहरुलाई समेत नेपाली लगानीकर्ताहरुले रोजगारी दिईरहनुभएको छ । नेपालकै आर्थिक, सामाजिक संरचनाअनुसार हामी विश्वमा कहलिएका ब्यापारिक संरचनामा छैनौ, तर २३÷२४ बर्षको यो छोटो कालखण्डमा हङकङमा जुन प्रकारले नेपालीहरुले ब्यापारिक दृष्टिकोणबाट सफलता पाईरहनुभएको छ, यो अनुकरणीय छ ।

६. हङकङ सरकारले नेपालीहरुलाई हेर्ने दृष्टिकोण कस्तो छ ?

हङकङ सरकारले नेपाली समुदायलाई सकारात्मकतवरले हेरेको पाएको छु । बिट्रिस सरकारको समयदेखी नै नेपालीहरुले देखाएको वीरता र ईमान्दारीताको मुक्तकण्ठले प्रशंसा गरेको पाएको छु । अहिलेको समयमा नेपालीहरुको संम्लग्ता रहेको सवै फिल्डहरुमा गरिएका कार्यप्रगतीहरुलाई हङकङ सरकारले नियालिरहेको छ ।

७. हङकङ सरकार प्रमुख क्यारी लामसँग विदाई भेटघाट गर्नुभयो । नेपालीको समसामयिक बिषयमा केहि बिषेश कुरा भयो ?

अवश्य, उहाँले मेरो सफल कार्यकालको प्रशंसा गर्नुभयो । नेपाल र हङकङको कुटनैतिक सम्बन्धका विषयमा कुरा भयो । हङकङ ईमिग्रेशनमा नेपालीहरुलाई हेर्ने दृष्टिकोण, नेपालीहरु हङकङको बाटो हुदै अन्य देशमा जादा ट्रान्जिट भिषा सहजिकरण, नेपालीहरुको लागि वर्किङ भिषा खुल्ला, डिप्लोमेटिक पासपोर्टहरुलाई अनअराईवल भिषा लगायतका बिषयमा सकारात्मक कुराकानी भयो ।

८. चारबर्षको कार्यकालमा भोग्नुपरेको नमिठो अनुभव ?

मैले वास्तवमै नमिठो अनुभुती गर्नु नै परेन । केहि असमझदारी भए होलान तर त्यसलाई कुराकानी मार्फत सहजताको बाटो तय गर्यौ । समग्र समुदायको साथ र सहकार्यले सायद त्यस्तो अनुभव गर्ने मौका दिएन ।

९. अन्त्यमा

सवै हङकङबासीहरुलाई धन्यवाद । मेरो कार्यकालमा कन्सुलर सेवा र नेपालको हितमा हुने सवैप्रकारका कार्यक्रमहरुमा तपाईहरुको सहकार्य र लगावलाई ह्दयदेखी नमन । (तस्बिर : एकिकृत नेपाली समाज HINS) 

निवर्तमान महावाणिज्यदूत कमलप्रसाद भट्टराईसँग गरिएको अन्र्तवार्ता पनि हेर्नुहोस् ।

Back to top button