पथरी शनिश्चरेमा १ जना पुरुषको मृत्युपछि कोरोना पुष्टि,सावधान हुन सबैमा आग्रह

यसखाले घटना नगरको यो पहिलो हो । नेपाली सेनाको टोलीले शवको दाहसंस्कार गरेको छ ।

पथरी शनिश्चरे / मोरङको पथरी शनिश्चरे-०२ मा आज एकजना पुरुषको मृत्युपछि कोरोना पुष्टि भएको छ ।

स्थानीय देवीगञ्जका ६५ वर्षीय पुरुष विरामी भएर १० दिन अघि न्यूरो अस्पताल विराटनगरमा उपचारका लागि भर्ना भएका थिए । त्यो बेला जाँच गर्दा उनमा कोरोना देखिएको थिएन । ज्वरो आएर उपचारका लागि लगेका उनको आज मृत्यु भएपछि कोरोना जाँच गर्दा पोजेटिभ देखिएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले बताउनु भयो ।

यसखाले घटना नगरको यो पहिलो हो । नेपाली सेनाको टोलीले शवको दाहसंस्कार गरेको छ ।

विराटनगरस्थित प्रदेशको कोभिड ल्याबमा आज पीसीआर परीक्षण गर्दा रिपोर्टमा कोरोना भाइरस देखिएपछि उपचारमा संलग्न उनका परिवारका सदस्य सहित ९ जनालाई तत्काललाई होम आइसोलेसनमा राखिएको छ । उनीहरुको पीसीआर जाँचको तयारी भइरहेको छ । साथै आजको अर्काे रिपोर्टमा समुदायस्तरका ३ जनामा कोरोना देखिएपछि उनीहरुको सम्पर्कमा भएकाहरुको ‘कन्ट्रयाक ट्रेसिङ’को क्रम सुरु भएको छ ।

समुदायका ३ तथा क्वारेन्टिनमा रहेका ४ गरी ७ जनामा कोरोना पोजेटिभ देखिएको रिपोर्ट आज आएको हो । समुदायस्तरका तिनै जना वडा नम्वर १ का हुन् भनें क्वारेन्टिनमा रहनेमा १ नम्बरका २ जना, २ का १ र १० का १ जना रहेको रिपोर्टमा उल्लेख छ । एकैचोटी आएको संक्रमितको यो संख्या नगरको अहिलेसम्मकै बढी हो ।

नगर प्रमुख दिलीपकुमार राईले संक्रमितको संख्या बढेको तथा मृत्यु भएको एकजनामा समेत कोरोना देखिएपछि अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन नगरवासीमा अनुरोध गर्नुभएको छ ।

यस अवस्थामा जारी लकडाउनलाई नगरवासीले पूर्णरुपमा पालना गरी अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । यसअघि ८ जनामा संक्रमण देखिएकोमा सवैजना निको भएर घर फर्किसकेका छन् ।

Back to top button