हङकङको भर्चुअल तीज । आशासँगै बढ्दो निराशा

‘यो बर्ष दर होईन डर खाएर बस्नु, नत्र अर्को बर्ष आफन्तले पिण्ड खाईदेलान

हिन्दु नारीहरुको महान पर्व तीज आईसकेको छ ।

नेपालमा तीजको रौनकसँगै सार्वजनिक भएका गीत संगितले महिना दिन अगाडीबाटै धमाका शुरु गर्छ । दिदीबहिनीहरुको भेटघाट, खानपिन र फेशनले सामाजिक सञ्जाल भरिन्छ ।

संसारैभरि छरिएर रहेका नेपाली नारीहरुले पनि तीजलाई विशेष बनाउँछन् ।

आधुनिक शहर हङकङमा पनि तीजले विशेष स्थान पाउने गर्छ । तीजको महिना शुरु भएसँगै विभिन्न संघसस्था, ब्यक्तिगत र सामुहिक तीज विशेष कार्यक्रमहरु सार्वजनिक हुने गर्दछन । आधुनिक तीजको नामाकरण दिदै दरसँगै वाईन र स्याम्पियनको चुस्की अनि डिस्को अनिवार्य भईसकेको छ । विदेशी भुमिलाई कर्मथलो बनाईरहेका नेपाली दिदीबहिनीहरु एकआपसमा भेला भई आफ्नो मातृभुमिको यादमा छमछमी नाच्दै मनाईदिन्छन् तीज ।

२०१९ को अन्त्यमा शुरु भएको कोरोना भाईरसले संसार आंतकित बनाईरहेको छ । मृत्युको भयमा सामाजिक दूरि, मास्क र सेनिटाईजरलाई अनिवार्य जीवन बचाउको माध्यम बनाउँन बाँध्य छ संसार । शरद ऋतुको आगमनसँगै भित्रिएका चाडपर्वहरुमा कसरी आफन्तजनसँग भेट्न सकिन्छ ? प्रवासीहरुको गहिरो प्रश्न बनेको छ ।

अन्तराष्ट्रिय उडानहरु बन्द भएसँगै नेपाल जान नसकेका हङकङेली नेपाली दिदीबहिनीहरु यसपटकको तीज खल्लो भएको बताउँछन ।
लेखक तथा समाजसेवी जुनु राना सामाजिक संञ्जालमा लेख्छिन् ‘यो बर्ष दर होईन डर खाएर बस्नु, नत्र अर्को बर्ष आफन्तले पिण्ड खाईदेलान ।’ महामारीको समयमा रमाईलो गर्ने भन्दा पनि सजक भएर बस्नुको विकल्प छैन । आफु बाँच्यो भने पो जीन्दगीभर नाँच्न सकिन्छ राना भन्छिन् ।

हङकङ साहित्यक साँझा श्रृखलाकी संयोजक कवि सुनिता गिरीले यो बर्षको तीज नमनाउँने सोच बनाएको बताउँछिन् । नेपालमा फोन गर्छु, आफन्तहरुसँग भिडियो कल गर्दै भर्चुअल तीज मनाउँछु । महामारीमा खुलेर रमाईलो गर्न पनि सकिन्न उनी भन्छिन् ।

प्रायस तीजमा आफैपनि कार्यक्रमको आयोजना गर्ने युथ एक्टिभिस्ट लक्ष्मी गुरुङ् भन्छिन् “हामी हङकङमा छौ, कोरोनाको तिव्र प्रकोप शुरु भएसँगै प्रशासनले जारी गरेको भिड निषेधाज्ञालाई मान्नु पर्ने बाध्यता छ । आफुसँगै समाजलाई बचाउँनका लागि पनि भिडभाड गर्न भएन । गुरुङ भन्छिन् नेपालमा तिव्र गतिमा बढिरहेको कोरोना संक्रमितहरुको संख्याले मन आंतकित हुन्छ । हङकङमा पनि संक्रमणको संख्या शुन्य हुन सकेको छैन, यस्तो भयभित वातावरणमा तीजको रौनक नै मनमा हुदैन । भर्चुअल सेलिब्रेशनको विकल्प नभएको उनी सुझाउँछिन् ।

बराह ज्वेलरी हङकङ साखाकी सेल्स अफिसरद्धय सोनु सुब्बा र सम्झना राई भन्छन् यो बर्ष दुखद बर्ष नै हुने भयो, कुनैपनि चाडपर्व खुलेर मनाउँन नपाईने भयो । विगतमा तीज शुरु भएसँगै गरगहना किन्नेहरुको घुईचो लाग्थ्यो, नेपाली दिदीबहिनीहरुलाई लक्षित गर्दै हामी पनि तीज बिशेष कार्यक्रमको आयोजना गर्थ्यौ तर यो बर्ष शुन्य छ । समग्र ब्यापार ब्यवसायसँगै चाडपर्व मनाउँने रौनकतामा पनि कमि आएको छ । महामारीको यो समयमा भिडभाडमा चाडपर्व मनाउँनु भन्दा घरमै सुरक्षित बसे आफु र समाजको लागि उपयुक्त हुन्छ ।

नेपाल एयरलाईन्स हङकङको स्टेशन म्यानेजर कल्पना काफ्ले कोरोना महामारीमा आत्मबल बलियो बनाउँदै आफुसँगै परिवारलाई सुरक्षित बनाउँनुको बिकल्प नभएको बताउँछिन् । यसपालिको तीज परिवारमा खानपिन र सामाजिक संञ्जालहरुबाट शुभकामना आदनप्रदान गर्दै मनाउँछु । अन्तराष्ट्रिय उडान बन्द भएसँगै नेपालमै छु, आफ्नो कार्यक्षेत्र हङकङ आउँन पाएकी छैन । परिवारसँगै भएकाले तीज त अवश्य विशेष नै हुन्छ तर साथीभाईको साथ पाउँन भने सकिएन । आशा गरौं चाँडै कोरोनाको त्रासबाट संसारले मुक्ती पाउँनेछ । अनि खुलेर तीज मनाऔंला काफ्ले भन्छिन् ।

तस्बिर : कृष्ण गुरुङ (फायल तस्बिर)

Back to top button