मुख्य बजार क्षेत्र पथरीलाई व्यवस्थित गरिदै

भदौ ७ सम्म नगरमा जारी रहेको बन्दाबन्दी (लकडाउन) को समयमा विहान ६ देखि विहान ९ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको सब्जी तथा फलफुल पसलहरु सडकमा राखेर भिडभाड सिर्जना गर्ने कार्यलाई रोकिएको हो ।

 पथरी शनिश्चरे  / कोरोना संक्रमणबाट बच्ने उपाय स्वरुप मोरङको पथरी शनिश्चरेको मुख्य बजार क्षेत्र ‘पथरी’मा सब्जी तथा फलफुल पसलहरु व्यवस्थित गर्न थालिएको छ ।

भदौ ७ सम्म नगरमा जारी रहेको बन्दाबन्दी (लकडाउन) को समयमा विहान ६ देखि विहान ९ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको सब्जी तथा फलफुल पसलहरु सडकमा राखेर भिडभाड सिर्जना गर्ने कार्यलाई रोकिएको हो ।

वडा नम्बर १ स्थित पथरी हाटबजार क्षेत्रको सडक र नालीको क्षेत्राधिकारभित्र रहेका सब्जी तथा फलफुल पसललाई पिपलबोट बजार क्षेत्रमा सारिएको वडाध्यक्ष बाबुराम एङ्देनले बताउनुभयो । वडा कार्यालयले सोमबारदेखि माइकिङ गर्दै सडक क्षेत्रमा रहेका अव्यवस्थित सब्जी र फलफुल व्यवसायीलाई पिपलचोक क्षेत्रको हाटमा सार्न सूचित गरिएको थियो । मंगलबार वडाध्यक्ष एङ्देनको अगुवाईमा इलाका प्रहरी कार्यालय र नगरी प्रहरीका सुरक्षाकर्मीहरुमार्फत पसल व्यवस्थित गराउने काम भएको छ ।

साथै नाला क्षेत्रमा रहेका सम्पूर्ण सामग्री हटाउने काम पनि सुरु भएको छ ।पसलमा कम्तिमा डेढ मिटरको सामाजिक दूरी कायम गरी अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, साबुनपानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्नुपर्ने, हातमा ग्लोब लगाउनु पर्ने उल्लेख गरिएको छ । कोरोनाबाट बच्न स्वास्थ्य सतर्कताका लागि नगरपालिकाले अन्यतर्फका सब्जी तथा फलफुल पसलहरु पनि उसैगरी स्वतः व्यवस्थित गर्न व्यवसायीलाई अनुरोध गरेको छ ।

सिटी सफारी, अटो रिक्सा सहितका यातायातका सम्पूर्ण साधन सञ्चालन नगर्न तथा घरभित्रै बसेर लकडाउनलाई पूर्ण रुपले पालना गर्न समेत अनुरोध छ ।अत्यावस्यक खाद्यान्न, अस्पताल, क्लिनिक, औषधि पसल, एम्बुलेन्स, सववाहन, दुग्धजन्य पदार्थ, पानी बोक्ने गाडी भनें खुला नै रहने निर्णय भएपनि नगरपालिका कार्यालय, वडा कार्यालयका प्रशासनिक सेवा सहित सरकारी तथा गैरसरकारी कार्यालय, यातायातका सम्पूर्ण साधन वन्द रहनेछन् ।

बैंक तथा वित्तीय संस्था भनें विहान १० बजेदेखि दिउँसो १ बजेसम्म मात्र सञ्चालनमा रहनेछन् । कोरोना सर्न सक्ने भएकाले सागसब्जी र फलफुल भनें यस पालिका बाहिरबाट नल्याउने निर्णय गरिएको छ ।

Back to top button