रंगमञ्चमा गरेको मेहनतले झन् आकर्षित गर्दै लग्यो !

काठमाडौ हाकिनुको कारण चै क्यानडा प्रक्रियाको लागि थियो तर त्यही बखत मेरो आमा स्वर्गीय हुनुभयो र २०७२ सालको भुइँचालो पनि गयो त्यसैले विदेश त जान पाईन

तेह्रथुमको पञ्चकन्या गाउँपालिकामा २०४९ सालमा जन्मिएका रङ्गकर्मी बारात लिम्बु आफू २ बर्षको हुँदा मोरङ्गको कानेपोखरी आएको बताउँछ्न। सामान्य परिवारमा जन्मिएका उनी सामुदायिक विद्यालयबाट नै आफ्नो माध्यमिक तहसम्म अध्ययन पूरा गरे । उच्च शिक्षाको लागि धरानबाट काठमाडौ हानिएका बारात क्यानाडा जाने तयारी गरिरहेका थिए । अभिनय मोहले यस्सरी च्याप्यो कि उनी त्यसबाट उम्कनै सकेनन् ।
सरल,गम्भीर र शान्त स्वभावका बारात मोफसलदेखि नेपालीहरुको सपनाको सहर काठमाडौसम्मको यात्रामा अनेकौं हन्डर खाएको बताउँछन् । अभिनय मोह र कलाकारिताको प्यासलाई जिवन्त बनाउँदै निरन्तर संघर्ष गरिरहेका बारातले दर्जनबढि नाटक, लघुचलचित्रमा अभिनय गरिसकेका छन् । ठुलो पर्दाको चलचित्रमा पनि आफ्नो अभिनय क्षमता प्रमाणित गरिरहेका बारातसँग एचके ट्युव नेपालका लागि सनम रोक्काको कुराकानी ।।

१. हाल लकडाउन खुलेपनि संक्रमण फैलिन रोकिएको छैन,यो अवस्थामा आफ्ना दिनचर्या कसरी बिताउदै हुनुहुन्छ  ?

  • सर्वप्रथम त तपाईंलाई धेरै धन्यवाद, बोल्ने कुरा त धेरै छैनन् र पनि अहिलेको समयमा चै आफ्नो दिनचर्या एउटा संस्थागत विद्यालयमा रंगक्षेत्रसंग सम्बन्धीत अनलाइन कक्षा गराएर नै बितिरहेको छ।

२. तपाईंले हालसम्म जम्मा कतिवटा रंगमञ्च,नेपाली चलचित्रहरुमा अभिनय गर्नुभयो  ?

  • हालसम्म दर्जन नाटकहरु मन्डला,कुन्ज थिएटर मंचन गरिएकामा अभिनय गरिसके भने फिचर चलचित्रहरुमा ‘पुरानो बुलेट’ हो भने ‘कालेबुङ’  फिल्मपनि ३५ दिन लगाएर सुटिङ गरियो तर विभिन्न कारणहरु गर्दा क्लाइमेक्स पाटो भने सुटिङ हुन सकेन त्यो रोकिरहेको छ।

३. नाट्य क्षेत्रको सुरुवात कसरी गर्नुभयो ? 

  • नाटय क्षेत्रमा मेरो सुरुवातको कुरा गर्नुपर्दा म धरान बस्थे अनि काठमाडौ हाकिनुको कारण चै क्यानडा प्रक्रियाको लागि थियो तर त्यही बखत मेरो आमा स्वर्गीय हुनुभयो र २०७२ सालको भुइँचालो पनि गयो त्यसैले विदेश त जान पाईन तर म चाहिँ पहिलेदेखि नै विराटनगरको गुरुकुल नाटय संस्थानमा नाटक हेर्ने गर्थें त्यतीबेलादेखि नै नाटकमा आकर्षित थिए त्यतीभएर केहिसमय पछाडी मण्डला थिएटरमा प्रवेश गरे त्यसैगरि मेरो नाटय यात्रा सुरु भयो।

४. तपाईं नाटय क्षेत्रमा प्रवेश गर्नुभएको ५ बर्ष भयो,यो क्षेत्रमा प्रवेश गर्नु कतिको सहज रहेछ ?

  • हेर्नुहोस है सहज त कुनै काममा पनि छैन।यदि तपाईंले मेहेनत गर्नुभयो भने जुनै ठाउँमा पनि प्रवेश गर्न सहज हुन्छ। तर आर्थिक कुरापनि आउँछ है निम्न वर्गको मानिसलाई त नाटय क्षेत्रमा प्रवेश गर्न केही हदसम्म गाह्रो नै हुन्छ।

५. तपाईं नाटय क्षेत्रमा प्रवेश गर्नुको मुख्य कारण के हो ?

  • यसमा चै काम गर्दै गर्दा रमाइलो लागेर निरन्तरता दिएको हो मैले।नाटक हेर्दा पनि खुब रमाइलो लाग्ने अनि एकदुई वटा नाटकमा अभिनय गरेपछी त्यसमा गरेको मेहनतले झन आर्कषित गर्न थाल्यो।त्यसरी हालसम्म निरन्तर ५ बर्षदेखि यसै क्षेत्रमा छु।

६. पहिलो नाटक अभिनय गर्दाको अनुभवको बारेमा बताईदिनुहोस न  ?

  • मैले अभिनय गरेको पहिलो नाटन द एज अफ डार्कनेस थियो जसका लेखक आदरणीय सर धर्मबिर भारती हुनुहुन्छ।त्यसमा अभिनय गर्दाको अनुभवको कुरा गर्नुपर्दा मैले निकै मेहेनत गरेको थिए।नाटकको अनुभव बेग्लै खालको छ।अभ्यास गर्दा गाली खाने देखि प्रशिक्षकको कुटाई सम्म खाईएको थियो।जे होस रमाईलो भएको थियो।

७. नाटयक्षेत्रमा लागेर हालसम्म पाउनुभएको मुख्य उपलब्धि के हो ?

  • मुख्य उपलब्धिको कुरा गर्नुपर्दा त दर्शकको माया नै हो।जब उहाँहरुले प्रत्यक्ष नाटक हेरेर प्रतिक्रिया दिनुहुन्छ त्यसले बेग्लै प्रकारका आनन्द दिलाउछ।

८. वर्तमानको कुरा गर्नुपर्दा चै रंगमञ्चमा मात्र अभिनय गरेर जिविकोपार्जोन गर्न कतिको सहज छ ?

  • तितो यथार्थको कुरा गर्नुभयो।नाटकमा मात्रै अभिनय गरेर त जिविकोपार्जोन गर्न गार्हो छ तर विकल्पमा नाटकबाहेक अन्य धेरै कलाको पाटोमा पनि हात हाल्न सकिन्छ । जस्तै चलचित्र, सिरियल, बिज्ञापन । यी क्षेत्रहरुबाट पनि केही हदसम्म जिविकोपार्जोनलाई सहजता बनाउन सकिन्छ। एकैक्षेत्रमा मात्रै टिकेर नबसी अन्य पाटोमा पनि संलग्न हुनुपर्छ।

९. तपाईंले अहिलेसम्म अभिनय गर्नुभएको नाटकका पात्रमध्ये सबैभन्दा सम्झनयोग्य नाटकियपात्र कुन हो ?

  • मैले चै एक बेलायती लेखक जसको नाम  इअन म्याक्वान हो। उहाँको उपन्यासको नाम भने “एटोन्मेन्ट” हो त्यसको नेपाली रुपान्तरण सन्दिप श्रेष्ठले गर्नुभएको छ।नेपाली नाम चै “चिसो भञ्ज्याङ्” हो। त्यसमा मैले तीन महिनासम्म ननुहाई ताप्लेजुङको एक लिम्बू व्यक्तिको काल्पनिक पात्र निर्वाह गरेको थिए। गन्हाउने शरीर काठमाडौमा लिएर हिंड्दा मानिसहरुले मप्रती गरेको व्यवहार अझै सम्झन्छु।माओवादी क्रान्तिमा संलग्न एक संघर्षशिल युवाको पात्र अभिनय गर्दाको अनुभवको निकै यादगार र सम्झनलायक छ।

१०. वर्तमान अवस्थाको कुरागर्नुपर्दा रंगकर्मीहरु चलचित्र क्षेत्रमा प्रवेश गरिरहेका छ्न,कारण के हो ?

  • रंगक्षेत्रमा मात्रै लागेर जिविकोपार्जोन गर्न त कठिनै छ दुवै क्षेत्रमा समान परिश्रम खर्चिनुपर्ने भएपनी चलचित्रमा अभिनय गर्दा केही मात्रामा नाटकभन्दा राम्रै रकम पाउने भएको कारण जसले गर्दा जिविकोपार्जोनमा पनि सहज हुने हुनाले रंगकलाकारहरु चलचित्र क्षेत्रमा प्रवेश गर्ने गरेका छ्न साथै कोहि चै नाटकपछि चलचित्र नै खेल्छु भनेर पनि आएका हुन्छ्न।कलाको पनि विभिन्न पाटोहरु छ्न सबैपाटोमा संलग्न हुने कोसिस गर्नुपर्यो। सबैको आआफ्नै धारणा हो।

११. तपाईं चलचित्र पुरानो बुलेटमा कसरी संलग्न हुनुभयो ?

  • “पुरानो बुलेट”का निर्देशन भीषण राई र प्रोडक्सन म्यानेजर याम सर मण्डल थिएटरमै आएर प्रस्ताव राख्नुभयो र त्यसरी नै अनुबन्ध भए।सुटिङ्गका क्रममा पनि निकै रमाइलो भयो र धरै कुरा सिक्ने मौका पनि पाए।

१२. अहिले कोरोना महामारीको कारणले गर्दा नाटकघर र चलचित्र हलहरु बन्द भएको निकै समय भयो,अब महामारी पछि यी क्षेत्रको परिस्थिति कस्तो होला ?

  • निकै कठिन छ महामारी पछिको समय,अझ गाह्रो चै नाटयक्षेत्रलाई छ किनभने प्रत्यक्ष दर्शकको अगाडि प्रस्तुत गर्नुपर्ने हुन्छ त्यो चै तुरुन्तै गर्न अप्ठ्यारो हुन्छ तर चलचित्र क्षेत्रलाई भने डिजिटल प्लाटफर्ममार्फत अगाडि बढाउन सकिन्छ।त्यहीँ भएर महामारीपछि चलचित्रको भबिष्य भने ठिकै छ तर नाटयक्षेत्रलाई चै कठिन नै छ।

१३. अन्तयमा तपाईंका दर्शक र श्रोतालाई के भन्न चहानुहुन्छ ?

  • कोरोनाको महामारी दिनहुुँ बढिरहेको यो अवस्था आफू र आफ्नो परिवारलाई सुरक्षित राख्नुहोस।मनोरञ्जनको लागि चलचित्रहरु हेर्नुहोला। हामीलाई सधैं यस्तै माया दिइरहनुहोस, धन्यवाद ll

Back to top button