पथरी शनिश्चरेमा एकैदिन ९५ जनाको स्वाब संकलन

स्वाब प्रदेश १ को कोभिड प्रयोगशाला विराटनगर पठाइएको छ ।

पथरी शनिश्चरे / मोरङको पथरी शनिश्चरे नगरपालिकाका जनप्रतिनिधि, पत्रकार, सामुदायिक वनका पदाधिकारी तथा समाजसेवीहरुले आईतबार कोरोना भाइरसको पीसीआर परीक्षणका लागि स्वाब दिएका छन् ।

नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, नगर प्रवक्ता यामप्रसाद गुरागाईं सहित वडाअध्यक्ष, कार्यपालिका सदस्य सहितका जनप्रतिनिधि सहित एक कार्यक्रममा सहभागिहरुको पथरी नगर अस्पतालका स्वास्थ्यकर्मीमार्फत स्वाब निकालेर कोरोना परीक्षणका लागि पठाइएको छ ।

गत साउन १७ गते जिल्ला वन कार्यालयका प्रमुख विशाल घिमिरे सहितको टोली पथरी शनिश्चरे र लेटाङमा बैज्ञानिक बन सम्वन्धी कार्यक्रममा सहभागि भएको थियो ।

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति, वैज्ञानिक वन व्यवस्थापनको अध्ययन कार्यदलले पथरीशनिश्चरेको हरियाली सामुदायिक वनमा अध्ययन, अवलोकन गरेका छन् । त्यसपछि वनको सभाहलमा समितिका संयोजक सांसद पूर्णकुमारी सुवेदीको अध्यक्षताको कार्यक्रममा सुझाब संकलन गरेको थियो ।

समितिका सदस्य सांसदहरु धनश्याम भण्डारी, शान्ता चौधरी, चन्द्राकान्त चौधरी, राजवहादुर बुढाथोकी र शान्तिमाया तामाङ पाख्रिन लगायत उपस्थित भएका थिए । टोलीका सदस्य जिल्ला बन कार्यालयका प्रमुख घिमिरेलाई साउन २१ गते कोरोना पोजेटिभ देखिएको छ ।

पथरीको हरियाली सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा भएको सो कार्यक्रममा घिमिरेसँगै सहभागि भएका जनप्रतिनिधि, वन समितिका पदाधिकारी, समाजसेवी, पत्रकारहरुको कन्ट्याक ट्रेसिङका आधारमा ७५ जनाको स्वाब परीक्षणका लागि पठाइएको हो ।

स्वाब प्रदेश १ को कोभिड प्रयोगशाला विराटनगर पठाइएको छ । पथरी बहुमुखी क्याम्पसमा नगरले खडा गरेको क्वारेन्टिनमा बसेकामध्ये २० जनाको पनि आईतबार नै स्वाब संकलन गरि पठाइएको छ ।

Back to top button