विराटनगर महानगरपालिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई सय ७८

पछिल्लो पटक २२ जना संक्रमित थपिएसँगै संक्रमण संख्या तीन सयको नजिक पुगेको हो ।

विराटनगर : पछिल्लो दुई सातायता तीव्ररुपमा संक्रमण फैलिइरहेको विराटनगर महानगरपालिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई सय ७८ पुगेको छ ।

पछिल्लो पटक २२ जना संक्रमित थपिएसँगै संक्रमण संख्या तीन सयको नजिक पुगेको हो । शनिबार राती प्राप्त पछिल्लो पीसीआर परीक्षण रिपोर्टअनुसार विराटनगरको एउटा वडामा ११ जनामा संक्रमण पुष्टि भएको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए । ११ जनानै विराटनगर -९ का हुन् ।

विराटनगर-१५ का एक, १४ का दुई, १२ का एक, ११ का एक, १० का दुई, ६ का एक, ३ का दुईजना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । एकजनाको वडा खुलाइएको छैन ।

विराटनगरमै गरिएको परीक्षणबाट मोरङको जहदाका एक र प्रदेश २ का चार जनामा पनि कोरोना देखिएको छ । विराटनगरमा शनिबार दिउँसो ३३ जना संक्रमित थपिएका थिए । राति थप २२ जनामा संक्रमण पुष्टि भएको हो ।

कार्कीले समुदायस्तरमा कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेको बताउँदै सबैलाई सचेत रहन र सावधानी अपनाउन आग्रह गरेका छन् ।

Back to top button