कानेपोखरी गाउँपालिका : बिरुवा वितरण कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीबीच बबाल

मोरङ : मोरङ कानेपोखरी गाउँपालिकाको कृषि सेवाअन्तर्गत फलफूलको बिरुवा वितरण कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीबीच बबाल भएको तथ्य बाहिर आएको छ।

पालिकाले कृषि सेवाअन्तर्गत यस वर्ष मालदह आँप, सिड्लेस प्रजातिको लिची र मोरङ्गे जात्को कागतिको बिरुवा खरिदको लागि सार्वजनिक प्रस्ताव आव्हान गरेको थियो। यस अन्तर्गत चार वटा नर्सरी फमले बिरुवा बिक्री मूल्यको दररेट उपलब्ध गराएका थिए।
जसमध्ये रौतहटको महादेव फलफूल नर्सरी बागवाणीको प्रस्ताव सही भएको मूल्यांकन समितिले १० असारको बैठकले निर्णय गरेर सिफारिसको लागि कार्यपालिकामा पठाएको थियो।

महादेव फलफूल नर्सरी बागवाणीले आँप र लिची ८९ रुपैयाँ ५० पैसाको दरले लगाएका थिए। दुई हजार आँप र एक हजार लिची सोही मुल्य र कागती ८० रुपैयाँमा खरिद गर्न प्रशासकीय प्रमुख पुरुषोत्तम घिमिरेले कार्यपालिकामा लिखित रुपमा सिफारिस गरेका थिए।

मूल्यांकन समितिको संयोजक प्रशासकीय प्रमुख, लेखालगायतको कर्मचारी रहने व्यवस्था छ। कानेपोखरीमा प्रशासकीय प्रमुख पुरुषोत्तम घिमिरे रहेका छन्। मूल्यांकन समितिले सिफारिस गरेको बिरुवाको मूल्य अरु पालिकाले ५०-६० को दरले खरिद भएकाले यो मूल्यमा सामन खरिद गर्न नहुने छलफल भएको एक जना वडा अध्यक्षले बताए।

कार्यपालिकामा निर्णय नभई महादेव नर्सरीले बिरुवा झारेका थिए। कृषि शाखाकी कर्मचारी संगीता कार्कीका अनुसार बिरुवा सम्झौता नगरी नै रौतहटबाट ल्याइएको थियो।

कार्यपालिका बैठकमा मुल्यांकन समितीले सिफारिस गरेकै मुल्यमा बिरुवा किन्नुपर्ने प्रशासकीय प्रमुख पुरुषोत्तम घिमिरेले जोड गरेपनि कार्यपालिका सदस्यहरुले बजार मूल्यभन्दा बढीमा किन्न नहुने तर्क प्रस्तुत गरेका थिए।

उक्त बैठकमा कानेपोखरी गाउँपालिका उपप्रमुख राजमती इङ्नामले बजार मूल्यभन्दा बढीमा बिरुवा खरिद गरिए अख्तियार जाने चेतावनी दिएपछि मात्र बिरुवाको मूल्य घटाइएको स्रोतले जानकारी दिए।

संघीय सरकारले विभिन्न जातको फलफूलको बिरुवा खरिदको अधिकतम मूल्य तोकि दिएको छ। जसअनुसार मालदह आँप र लिची बढिमा ७५ रुपैयाँमा खरिद गर्न सकिने उल्लेख छ।

सरकारको यो प्रावधानसमेत उल्लंघन गर्दै १४ रुपैयाँ ५० पैसामा बिरुवा खरिद गर्न सिफारिस भएको थियो। कर्मचारीले गाउँपालिकासँग सम्झौता नगरी बिरुवा मगाउनुको साथै तत्काल कुरा नमिल्दा महादेव नर्सरी ३ दिनसम्म कानेपोखरीमा बिरुवा रुङ्नु परेको थियो।

बजारमा पाइने र सरकारी मूल्यभन्दा १४ रुपैयाँ ५० पैसा बढीमा बिरुवा किन्न सिफारिस हुनुमा प्रसाशकीय प्रमुख पुरुषोत्तम घिमिरेले कमिसनकै खेल भएको हुनसक्ने एक वडा अध्यक्षको भनाई छ।

बिरुवा जबरजस्ती महंगो मूल्यमा खरिद भएमा उजुरीको लागि जनप्रतिनिधि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग जाने चेतावनी आएपछि दुवै प्रकारको बिरुवा सरकारले तोकेको ७५ रुपैयाँमा खरिद गरेर कृषकलाई आधा अनुदानमा वितरण भएको छ।

प्रशासकीय प्रमुख पुरुषोत्तम घिमिरेले भने सरकारी मूल्यमा बिरुवाको प्याकेजिङ, धुवानी रकम जोडिने जनाए। पालिकामा कुरा नमिलेपछि हजार बोट कागतीको बिरुवा रौतहट नै फर्काएको कानेपोखरी गाउँपालिकाका कर्मचारी संगीता कार्कीले बताइन्।

नेकपा मोरङ जिल्ला सदस्य रहेका स्थानीय युवा मनोज राजवंशीले गाउँपालिका र स्थानीय सरकारको बेइज्जत हुने गरी प्रशासकीय प्रमुख पुरुषोत्तम घिमिरे कमिसनमा लाग्न नहुने बताए। आफूले घिमिरेलाई पटक–पटक सुझाव दिएको भन्दै यस्तै रहे कुनैदिन दुर्भाग्य हुने उनको भनाई छ।

Back to top button