हङकङबाट पहिरोपिडितलाई ११ लाख २५ हजार आर्थिक सहयोग

हङकङ संवाददाता
पर्वत मञ्च हङकङको संयोजकत्वमा पर्वत दुर्लुङ्का पहिरोपिडितहरुलाई हङकङबाट ११ लाख २५ हजार आर्थिक सहयोग प्रदान गरिएको छ । पहिरोमा परेर ज्यान गुमाएका ९ घरपरिवारलाई जनही १ लाख १५ हजार, पहिरोमा सामान्य क्षति भएका ६ घरपरिवारहरुलाई जनही १५ हजार रुपैया प्रदान गरियो ।
एक कार्यक्रमबीच पहिरोपिडित घरपरिवारहरुलाई पर्वत मञ्च हङकङका प्रतिनिधि एवंम चारभञ्जयाङ् तमु समाज हङकङका निवर्तमान अध्यक्ष गंगाबहादुर गुरुङ र कुस्मा नगरपालिका वडा नं ३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले संयुक्तरुपमा रकम हस्तान्तरण गरेका थिए ।

मञ्चका अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’ भन्छन् पर्वत मञ्चको पहलमा सम्पुर्ण सहयोगी संस्थाहरुले साथ दिनुभयो । हामी विदेशमा छौ तर आफ्नो घरगाउँ पहिरोले बगाउँदा, आफ्ना छिमेकीहरु पहिरोसँगै हराउँदा हामी पनि बेचैन भयौं । सवैबाट आर्थिक सहयोग संकलन गरेर प्रदान गरेका छौ । उहाँहरुको आफन्त फर्काउँन त सक्दैनौ तर दुखि रहेको घाउमा हाम्रो सहयोगले सहानुभुती अवश्य प्रदान गर्नेछ ।

आर्थिक सहयोग संकलन अभियानमा हङकङमा रहेका आर्थर डाँडाखर्क समाज, पञ्चासे सहयोग समिती, देउपुर देउराली समाज, बाजुङ समाज, पर्वत पुन मगर समाज, सुकुटी ग्रुप, पैयुं खोला समाज, तमु समाज, चारभञ्ज्याङ् तमु समाज, भुका समाज लगायतले आर्थिक सहयोग गरेका थिए ।

पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङको ढकालबारीमा जेठ ३१ गते राति भिषण पहिरो गएको थियो । पहिरोमा परेर ९ जनाले ज्यान गुमाएका थिए ।

दुर्लुङमा गएको पहिरोको बारेमा भुगर्वविद्को टोलीले एक अध्ययन प्रतिवेदनसमेत सार्वजनिक गरिसकेको छ । अध्ययनले ३ घण्टाभन्दा बढि लगातार भारि बर्षापछि भिरालो जमिनमा पहिरो उत्पति भई सतहको माटो र रुख, विरुवासमेत बगाउँदै समथर स्थानमा केहि समय थुनिन गई विशाल विस्फोटन हुदा तटिय क्षेत्रको समथर भुभागका बस्तिमा असर पारेको निष्कर्ष निकालेको छ ।

Back to top button