समीक्षाको कसीमा ‘सिकाइ र सहयोग’

श्रमिक बरालका नामले साहित्य, संगीत तथा बालसाहित्यमा कलम चलाएका नेपाल सरकारका सचिव खगराज बरालको ‘सिकाइ र सहयोग’ नामक कृति सांग्रिला पुस्तक प्रालिले हालै प्रकाशन गरेको छ । प्रायः सचिवहरू जागिरे जीवनको उत्तरार्ध र अवकाशपछि अनुभव सँगालो, आत्मकथा आदि प्रकाशन गर्ने चलनलाई चिर्दै बरालले पदमा नै रहँदा विगतमा आफूले देखे, भोगे र अनुभव गरेका विषयवस्तुलाई सँगालोका रूपमा पस्केका छन् । उनी भन्छन्, ‘मैले आत्मकथा लेख्ने बेला भएको छैन र खासै रुचि पनि छैन ।’

बरालको यो कृति बालकदेखि वृद्धासम्म, गृहिणीदेखि व्यवस्थापकसम्म सबैलाई उत्तिकै कामयावी र पठनीय छ ।
पुस्तक भूमिकाबाहेक २ सय ४१ पृष्ठको छ । विभिन्न २५ वटा शीर्षक छन् । शीर्षकको प्रतिनिधित्व शीर्षकभित्रका सबै विषयवस्तुले गरेका छन् । प्रत्येक शीर्षक भिन्नभिन्न विषयवस्तुमा पोखिएका छन् तर सारमा एउटा न एउटा सन्देश दिएर सिकाइका लागि सहयोगी बनेका छन् । शीर्षक र विषयवस्तु, विषयवस्तु र त्यसले दिने सन्देशबीच समीचीन तादात्म्यता देखिन्छ । यसैकारण पुस्तकको शीर्षक ‘सिकाइ र सहयोग’ सार्थक देखिन्छ ।

मन्त्र नभएको अक्षर र औषधि नभएको वनस्पति हुुँदैन भनेझैं पुस्तक पढ्दा गहन विचार, दर्शन र सन्देश नदिने कुनै पनि शीर्षक छैनन् । अर्को शब्दमा लेखक गागरमा सागर भर्न सफल छन् यस कृतिमा । ‘एकश्चन्द्रः तमो हन्ति न च तारागणोपि च’ अर्थात् ‘नक्षत्र समूहले भन्दा एउटा चन्द्रमाले अन्धकार नाश गर्छ’ भनेझैं दर्जनौं पुस्तकबाट पाइने खुराक यही पुस्तकबाट सजिलै पाउन सकिन्छ । त्यो सामथ्र्य यस कृतिले बोकेको छ ।

सरसर्ती हेर्दा पुस्तकलाई स्मरणात्मक आलेख भन्न मिल्छ । स्रष्टाले देखे, भोगेका मसिना विषयवस्तुलाई पनि सजीवता प्रदान गरेर बडो रोचक र सान्दर्भिक पारामा व्यक्त गरिएको छ । पढ्दै जाँदा अब के हुने होला ? यसपछि कसरी प्रसंग अघि बढ्ला भन्ने खुल्दुली उत्पन्न हुन्छ । थोरै लेखकसँग मात्र यसरी सरल विषयलाई पनि मिहीन पाराले व्यक्त गर्ने कौशलता हुन्छ र यस मानेमा लेखक पूरापूर सफल छन् ।

मन्त्र नभएको अक्षर र औषधि नभएको वनस्पति हुँदैनन भन्ने भनाइ आफैंमा सार्थक छ

लेखकले जे देखे, त्यो लेखेका छन् । ‘भन्नैपर्दा’ मा लेखकले कृति लेख्नुको उद्देश्य खुलाइएको छ । यो सुधारात्मक ध्येयले लेखिएको कृति हो । ‘कसैलाई सुधारका लागि टिप्पणी गर्दा चित्त नदुुखाउनुहोला भन्दिनँ । चित्त दुखेन भने सुधारको सम्भावना पनि रहँदैन’ भन्ने लेखकीय चिन्तनको उपज हो यो कृति । प्रत्येक शीर्षक यही विचारको प्रतिनिधित्व गर्दै सुधारका लागि एउटा न एउटा दृष्टान्तसहित प्रस्तुत गरिएका छन् ।

‘महिला पहिला’ भनिने देशमा ‘बालबालिका पहिला’ किन भन्न सकिएन ? बाल बालिकाका क्षेत्रमा हाम्रा व्यवहार उपेक्षित भएकामा लेखकले गुनासो गरेका छन् । सार्वजनिक यातायातमा आफ्नै छोराको कथा अघि सार्दै उनी सिटको भाडा तिरेर पनि बालक सिटमा बस्न नपाउने नियतिप्रति व्यंग्य गर्छन् । आज पनि घरमा पाहुना आउँदा बालक रमाउने स्थिति छ । कतै हामीले बालकको ‘खाद्य सम्प्रभुता’ हनन गरेका त छैनौं ? यही भाव व्यक्त गरेको छ कृतिको पहिलो शीर्षकले ।
चिनियाँ संस्कृतिको चर्चा गर्दै पुर्वीय र पश्चिमा संस्कृतिको जीवनचर्याबारे तुलनात्मक अध्ययन छ यसभित्र । मानिस शाकाहारी प्राणी हो भन्ने कुरा जाइकाको स्वंयमसेवकसँगको संवादमार्फत स्पष्ट परिएको छ । मान्छेलाई शाकाहारी बनाउने सामथ्र्य ‘सिकाउने आफ्नै काइदा’ शीर्षकले राखेको छ ।

बुुझाइको अल्पज्ञताका कारण भाषाले पार्ने प्रभावबारे पनि कृतिमा चर्चा गरिएको छ । ‘बझाङमा गाई नभएर गोरु ब्याउँछ’ भन्ने प्रसंगबाट भाषिक पक्षको चिरफार र भाषा परिवर्तन कसरी हुन्छ भन्ने कुरा उल्लेख गरिएको छ ।

बिनाटिकट यात्रा गर्ने प्रवृत्तिउपर व्यंग्य गर्दै हाम्रो सामाजिक पक्षको चित्रण गरिएको छ । एकाघरका दुई भाइ एउटै बसमा यात्रा गर्नु हुँदैन भन्ने मान्यता यहाँ आएको छ । जापानजस्तो देशमा राजाको जेठो तर पुरुष सन्तान नै राजा हुनुपर्ने व्यवस्था हुँदा पनि त्यहाँ मुद्दा मामिला पर्दैन । यसैले जापानले विकास गरेको छ भन्दै हामीकहाँ जसले पनि जेमा पनि मुद्दा दायर गर्न पाउने प्रवृत्तिमा सुधार हुन जरुरी छ भन्ने सन्देश दिइएको छ ।

जेनेभा बसाइमा महिला सचिवमार्फत पुरुषप्रतिको दृष्टिकोणमा परिवर्तन आएको प्रसंग छ । तर, त्यो टिममा जाने महिला सचिव को थिइन् ? खुल्दुली पैदा हुन्छ । मानिस त्यतिबेला राम्रो देखिन्छ, जतिबेला ऊ काम गरिरहेको हुन्छ भनेर माओले भनेका छन् । यो भनाइलाई सार्थक पार्दै लेखक तालिम केन्द्रको प्रशिक्षक हुँदा आफैं खाना पकाउने, भाँडा माझ्ने गरेको प्रसंगद्वारा स्वावलम्बनको सन्देश दिइएको छ । अधिकृतको तालिममा काठमाडौं बसाइमा कीर्तिपुरस्थित प्रगति होटलमा महिनावारी खाने खगराज बराल र तालिम केन्द्रमा आफंै खाना बनाउने, भाँडा माझ्ने कुरा लेख्ने यस कृतिका लेखक सचिव खगराज बराल एउटै हुन् त ? म एकछिन घोत्लिएँ । स्वावलम्बन पछि पनि त सिक्न सकिन्छ भन्ने हो भने उनको प्रस्तुति अन्यथा मान्नुपर्ने देखिएन ।

जापान भ्रमणमा जाँदा सियोधागोसमेत आफैं लिएर गएकाले अरू देशका सहयात्रीसमेत लाभान्वित भएको र यसको जस लेखकले श्रीमतीलाई दिएका छन् । कुशल गृहिणीको परोक्ष चिनारी यहाँ आएको छ । भीमनिधि तिवारी आफ्ना रचनामा श्रीमतीकै बैगुन लेख्थे । भानुुभक्तको बधूशिक्षाबाट पनि उनकी श्रीमती रिसाएकाले पछि केही श्लोक फेरेको भनिन्छ । थोरै लेखकसँग मात्र आफ्नो कृतिमार्फत श्रीमती रिझाउने खुबी हुन्छ । त्यो खुुुुबी लेखकसँग यहाँ प्रशस्त देखिएको छ । अझ विभिन्न प्रसंगमा आफ्नो घरको संस्कार, बाआमाको कौशलता र खानदानीलाई समेत लेखकले पाठकसमक्ष पस्केका छन् ।
आफ्नो घरमा खरानी पानीले हात धोएर तीनपत्रे भान्छाको आफूलाई तोकिएको स्थानमा बस्नुपर्ने तत्कालीन चलनमार्फत आफ्नो संस्कृतिको उजागर यसमा पाइन्छ । जिल्ला भ्रमणमा जाँदा चाकडी गर्ने र जबरजस्ती खाजा खुवाई अफिसका नाममा बिल बनाउने प्रवृत्तिउपर पनि कटाक्ष गरिएको छ । सवारी दुर्घटनाको क्षतिपूर्तिको अलग अलग व्यवस्थाप्रति लेखकको असहमति छ ।

कृतिमा हाम्रो समाजको यथार्थ छ । जे छैन, समाजमा नभएकाले छैन भन्ने सन्देश दिइएको छ ।

सहसचिव हुँदासमेत अनुुभवहीनताको पीडा व्यक्त गर्दै कर्मचारीतन्त्रको हेपाहा प्रवृत्तिप्रति अलग शीर्षकमा प्रहार गरिएको छ । हराएका चन्द्रकान्त १२ वर्षपछि भेटिएको प्रसंग निकै प्रेरक छ । अन्तिम लेखमा संस्कृतको महŒव उजागर गर्दै टुंगाइएको छ ।

सबल पक्ष
कृतिका घटनाहरू लेखकीय अनुुभवमा आधारित छन् । लेखक यी घटनाका साक्षी छन् । कुनै घटनामा लेखक यो मुुलुकका जिम्मेवार अधिकृत, कतै कानुन निर्माण र कार्यान्वयन गर्न सक्ने उच्चतम पदीय हैसियतमा छन् । स्रष्टाको काम भनिदिने मात्र हो तर यहाँ त आफूले देखेको विकृतिलाई आफैंले सुधार्न सकिने हैसियतमा स्रष्टा देखिन्छन् । यो अवसर थोरै लेखकले मात्र पाउँछन् । यसबीचमा भोगेका घटना र देखिएका पात्रलाई सहजीकरण गर्ने कुरामा लेखक चुकेका छैनन् ।

कतिपय अवस्थामा पात्रको भोगाइ व्यक्तिगत भए पनि अवस्था सामूहिक भएकाले पात्रलाई भन्दा प्रवृत्तिलाई हेरेर नीतिगत सुधार गर्नुपर्ने थियो । बालअधिकार हननको सचित्र वर्णन गर्ने लेखक स्वयं बालबालिका मन्त्रालयको सचिव हुँदा सुधारका लागि के प्रयास गरियो ? उल्लेख हुन सकेको भए राम्रो हुन्थ्यो । अरू सामान्य लेखक र सचिव लेखकबीच अन्तर देखिन सकेको छैन । लैंगिक पक्षमा पनि लेखक सरोकारवाला मन्त्रालयकै सचिव भइसकेको हुँदा सुधारका लागि यी यी प्रयास गरें भन्न सक्नुपर्ने थियो । तर, भनिएको छैन ।

भाषापक्ष
भाषा सरल छ, सलल बहेको छ । पढ्दा थकाइ लाग्दैन, झन् उत्सुकता जाग्छ । पढ्दै जाँदा लेखकको पकडको क्षेत्र यो हो भन्ने छैन । सर्वज्ञ, सर्वज्ञाता । अनुुभवजन्य भोगाइलाई प्रस्तुति गरेको सरस भाषाकै कारणले होला, जुनसकै विषय पनि पढिरहूूँ लाग्छ । विज्ञान, भाषा, संस्कृति, जैविकता, पर्यटनजस्ता बग्रेल्ती पक्ष यहाँ आएका छन् । लेखकले नजानेको र नडुलेको पक्ष कतै देखिँदैन । हिरालाल विश्वकर्माको भाषणजस्तो । हर विषयमा अनुुभवहरू पोखिएका छन्, भाषिक सरलताकै कारण ती जटिल लाग्दैन ।

ठाउँ ठाउँमा अंग्रेजी, हिन्दी र संस्कृतका पदावली आए पनि तिनले लेखकीय विचारलाई सम्प्रेषण गर्न सघाएका छन् । निमन्त्रक, राष्ट्रिय खुसीपन, खच्चडीकरणजस्ता नवीन शब्द आएका छन् । कार्यालयलाई स्थानीयकरण गर्दै काज्र्यालय बनाइएको छ । मुलुकी ऐनलाई अपराध संहिताले प्रतिस्थापन गरेको धेरै भयो तर लेखकलाई पुरानै पदावली पछाउन मन लागेर होला, मुलुकी ऐन नै लेखिएको छ । ‘उहाँको घर आइपुुगेछ, चिया पिउन अनुरोध गरिनँ’ जस्ता असचेत आदरार्थीको प्रयोग भएको छ । प्रतिष्ठापन छ, सायद प्रतिस्थापन हुनुपथ्र्यो ।

समग्रमा कृति पठनीय र संग्रहणीय छ । सुधारका लागि प्रेरक छ । कोरा कल्पनामा समय खर्चिएको छैन । जे छ, हाम्रो समाजको यथार्थ छ । जे छैन, समाजमा नभएकाले गर्दा छैन भन्ने सन्देशका लागि कृति पूरापूर सफल छ ।

Back to top button