डोटीबाट बडिमालिका लगियो सरकारी डोल

काठमाडौं । जिल्ला सदरमुकाम सिलगढीबाट मङ्गलबार बाजुरा जिल्लामा रहेको बडिमालिका मन्दिरका लागि एक सरकारी डोल गएको छ । जनै पूर्णिमाको दिन लाग्ने मेलाका लागि उक्त डोल डोटीको सिलगढीबाट पठाइएको हो । सिलगढीमा रहेको रुद्रध्वज गणको सैनिक टोली तथा जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले शैलेस्वरी मन्दिरमा उक्त डोललाई सलामी दिएपछि सरकारी कर्मचारीसहितको सरकारी डोल बाजुरमा रहेको बडिमालिका मन्दिरका लागि प्रस्थान गरेको हो ।

राणाकालदेखि जिल्ला प्रशासन कार्यालय सिलगढीमा पूजाआजा गरी विधिवतरूपमा सरकारी कर्मचारीले डोल लैजाने चलन रहँदै आएअनुसार आज आफूले पनि सरकारी डोल पठाइएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए । उनले भने, “राणाकालदेखि डोल पूजाआजा गरेर सरकारी खर्चमै पठाउने चलन रहेछ, सोहीअनुसार हामीले पनि आज पूजाआजा गरेर डोल पठाएका छौँ ।”

उक्त सरकारी डोल बडिमालिका मन्दिरमा पुग्न कम्तीमा पनि एक हप्ताको समय लाग्ने जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । बडिमालिका मन्दिरका लागि अछाम, बाजुरा, बझाङ तथा डोटीबाट बर्सेनि डोल लैजाने चलन छ । सुदूरपश्चिम प्रदेशको बाजुरामा रहेको बडिमालिका धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिबाट प्रचुर सम्भावना बोकेको क्षेत्र भएका कारण जनैपूर्णिमाको समय उक्त मन्दिरमा भक्तजनको निकै घुइँचो लाग्ने गरेको शैलेश्वर क्षेत्र विकास समितिका अध्यक्ष तथा पुजारी प्रेमशङ्कर भट्टले बताए । उनले भने, “भक्तजनले मागेका तथा चिताएको वर मिल्ने भएका कारण पनि बडिमालिका मेलामा बर्सेनि भक्तजनको भीड लाग्छ, यो सुदूरपश्चिमकै पवित्र तीर्थस्थल हो ।”

समुद्री सतहबाट करिब चार हजार २०० मिटर उचाइमा रहेको बडिमालिका जान जिल्ला सदरमुकाम सिलगढीबाट एक दिन गाडीको यात्रा तथा दुई दिन पैदलयात्रा गर्नुपर्ने सिलगढीका स्थानीय रामबहादुर धामीले जानकारी दिए । यात्रा शुरु हुँदादेखि नै गाउँलेले बाटोमा पूजाको थाली राखेर तीर्थयात्रीको यात्रा सफल होस् र बडिमालिकाले सबैलाई आशीर्वाद दिऊन् भन्ने कामनासहित ठाउँठाउँमा पानीका घडा र फूलमालाले स्वागत गर्ने गरेको गत वर्ष सरकारी डोल लगेर बडिमालिका जानुभएका मालपोत कार्यालय डोटीका कर्मचारी नारद गिरीले बताए । उनले भने, “तीर्थयात्रीको यात्रा सफल होस् भन्ने कामनासहित ठाउँठाउँमा फूलमाला र पानीका घडा राखेर स्थानीयवासीले स्वागत गरेका हुन्छन्, फर्किने समयमा हामीले ती घडाहरुमा बडिमालिकाको प्रसाद राखेर आउछौँ ।”

बडिमालिका जाने क्रममा बाटोमा खाने–बस्ने व्यवस्था अहिलेसम्म पनि खासै हुन नसकेको भएको पनि उक्त क्षेत्रमा जनैपूर्णिमाको मेलाबाहेक अन्य समयमा कमै मानिस घुम्न जाने गर्छन् । बडिमालिका जाने क्रममा बाटोमा थुप्रै साना मन्दिर, वन्यजन्तु, खोला, झरना आदि देख्न पाइने गरेको बडिमालिका मन्दिरमा गएकाहरु बताउँछन् । बडिमालिका जाने क्रममा बाटोमा त्रिवेणीधाम रहेको छ । तीन नदीको सङ्गम रहेको उक्त धाममा अधिकांश तीर्थयात्रीले आफ्ना स्व बाबुआमाको श्राद्धसमेत गर्ने गरेको शैलेश्वरीका पुजारी भट्टले बताए । उनका अनुसार त्रिवेणीधामबाट कम्तीमा पनि छ घण्टा हिँडेपछि बडिमालिका पुगिन्छ । वर्षमा धेरै समय हिउँ पर्ने र सितिमिति नपग्लिने बडिमालिकामा बर्सेनि जनैपूर्णिमाको समयमा नेपाल र भारतका थुप्रै भक्तजन मेला भर्न आउने गर्छन् ।

प्राकृतिक छटाले भरिपूर्ण बडिमालिका तथा खप्तड क्षेत्रको पर्यटकीय विकासका लागि सरकारले खासै योजना नल्याएको स्थानीयवासीको गुनासो छ । जनैपूर्णिमाको बेला चतुर्दशीको दिन बडिमालिकामा लाग्ने विशेष मेलामा पृथ्वीनारायण शाहकै पालादेखि नै सरकारीस्तरबाट पूजा गर्ने चलन रहेको सिलगढीमा रहेका नेवार जातिका मानिस बताउँछन् ।

बडिमालिकामा जनैपूर्णिमाको दिन राति १२ बजेदेखि नै तीर्थयात्री पूजा गर्नका लागि लाम लागेर बस्ने चलन छ । पौराणिक कथाअनुसार महादेवकी पत्नी सतिदेवीका पिता दक्ष प्रजापतिले यज्ञ गर्ने समयमा महादेवले नबोलाएको र सतिदेवीले दक्ष प्रजापतिको यज्ञस्थलमा गएर पितासित आफ्ना पति महादेवलाई नबोलाएका कारण सोधेकी थिइन् । दक्ष प्रजापतिले महादेव भाङ, धतुरो खाने, समसानमा बास बस्ने, घाँटीमा सर्पको माला लगाउने, जटाधारी भेषमा रहने, शरीरभरि खरानी घस्ने, बाँघको छालाको पहिरन गर्ने भएकाले यज्ञमा बस्ने शोभा नभएको बताएका थिए ।

दक्षले त्यस्तो उत्तर दिएपछि सतिदेवीले यज्ञकुण्डमा हामफालेर देह त्यागेकी थिइन् । सतिदेवीको मृत शरीर बोकेर हिँडेका महादेव त्यहाँ पुगेपछि सतिको शरिर पतन भएकाले त्यसको नाम बडिमालिका राखिएको किंवदन्ती रहेको स्थानीयवासी बताउँछन् ।

  • रासस

Back to top button